नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाको नाममा सर्वोच्च अदालतमा दायर रिटमा तीन वटा माग राखेको देखिएको छ।
आइतबार बिहान निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले सर्वोच्च पुगेर रिट दायर गराएका थिए।
कांग्रेस नेताहरूले आजै सुनुवाइको माग राखेका थिए। तर कानुन अनुसार नमिल्ने सर्वोच्च प्रशासनको भनाइ थियो। रिटको पेसी मंगलबारका लागि तोकिएको छ।
रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।
त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन्।
निर्वाचन आयोगले शुक्रबार सभापति गगन थापा र उनको कार्यसमितिलाई नै आधिकारिकता दिएको थियो।
त्यसलाई निर्णयलाई पनि उनीहरूले बदर गर्न माग गरेका छन्।
रिट निवेदकको रूपमा निवर्तमान सभापति देउवा छन्। निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएको छ। त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पनि विपक्ष बनाएको छ।








