गृहपृष्ठ Featured उम्मेदवारीको प्रस्ताव आए स्वीकार्न र जिताउन भूमिका खेल्न शेखरको निर्देशन

उम्मेदवारीको प्रस्ताव आए स्वीकार्न र जिताउन भूमिका खेल्न शेखरको निर्देशन

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन अग्रणी भूमिका खेल्न र सँगै १५ औँ महाधिवेशनको तयारी गर्न समेत आग्रह गरेका छन्।

आइतबार बत्तीसपुतलीमा भएको आफूपक्षीय नेताहरुको भेलामा उनले पार्टीको संकटलाई अहिले छलफलमै छोड्न र निर्वाचनको तयारीमा लाग्न आफू निकट नेताहरुलाई आग्रह गरेका हुन्।

‘पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई विजयी गराउन कार्यमा लाग्नु हुन र पार्टी उम्मेदवारी प्रस्ताव भएको अवस्थामा सहमति जनाउनका लागि पनि म तपाईंहरुलाई आह्वान गर्न चाहान्छु,’ कोइरालाले भने, ‘धेरै साथीहरुको विचार यही मेल खान्छ जस्तो लाग्यो।’

 

पार्टीको संकटको अवस्थामा आफूलाई कहाँ उभ्याउने भन्नेबारे छलफलमै छोड्न समेत आग्रह गरे। ‘तपाईंलाई मेरो पनि चिन्ता होला शेखरले के गर्छ?,’ कोइरालाले भने, ‘मुलुकमा भएको संवैधानिक संकट र पार्टीभित्र भएको असहज परिस्थितिमा आफूलाई कहाँ उभ्याउनुपर्ने हो, परामर्शमै छोड्नु।’

‘तर, पार्टीका उम्मेदवार बिजयी गराउनका लागि अग्रणी स्थानमा रहेर सहयोग पुर्‍याउनुहोस्,’ उनले थपे।

गगन थापा नेतृत्वको कांग्रेसलाई असंवैधानिक समेत भनिरहेका कोइरालाले १५ औँ महाधिवेशनको तयारी गर्न समेत आग्रह गरे।

‘निर्वाचनसँगसँगै हामीले १५ औँ महाधिवेशनमा पनि ध्यान दिनुपर्ने छ,’ कोइरालाले भने, ‘निर्वाचनसँगै तपाईंहरू १५ औँ महाधिवेशनको पनि तयारी गर्नुहुने छ भन्ने विश्वासका साथ विदा लिन्छु।’

 

सम्बन्धित् समाचार