गृहपृष्ठ Featured उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म हासिल गरिएका उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताएका छन् ।

सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले प्राप्त उपलब्धिहरू जोगाउँदै अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, “आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्तै आवश्यक छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायित्व र समावेशी योजनामा प्राप्त प्रगतिलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकार प्रतिबद्ध छ । उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार हो ।”

नेपाली समाज सांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै उनले हरेक समुदायका मौलिक चाडपर्वले नेपाली पहिचान, इतिहास र सामाजिक सम्बन्धलाई अझ बलियो बनाइरहेको बताए । सन्देशमा भनिएको छ, “यिनै मूल्य र परम्पराले हाम्रो समाजलाई मजबुत बनाउँछन् । प्रदेश सरकारले सबै चाडपर्वलाई समान सम्मान र महत्व दिँदै आएको छ ।”

समृद्ध प्रदेश र खुसी जनताको साझा लक्ष्य हासिल गर्न मौलिक संस्कृति, सम्पदा र सभ्यतालाई पर्यटनसँग जोडेर विकासका नयाँ अवसरहरू सिर्जना भएको मुख्यमन्त्री आचार्यले उल्लेख गरे । सन्देशमा भनिएको छ, “लुम्बिनी प्रदेशको प्राकृतिक तथा सांस्कृतिक विविधता आफैंमा ठूलो शक्ति हो । यसलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, नयाँ रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पहिचानको दिगो संरक्षण गर्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको छ ।”

सम्बन्धित् समाचार