गृहपृष्ठ Featured मतदातासँग ओलीले भने- राजनीतिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको छ

मतदातासँग ओलीले भने- राजनीतिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कुल खसेको मतको ७० प्रतिशतभन्दा बढी हासिल गरेर एमालेले विजयी यात्रा तय गर्ने दाबी गरेका छन्।

झापाको कमल गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस स्थिर हुन नसकेको र पूर्वमाओवादीका मतदाताहरू समेत एमालेको पक्षमा ढल्किएकाले दुई तिहाइभन्दा बढी मत आउने विश्वास व्यक्त गरे।

झापा क्षेत्र नम्बर ५ मा भएको विकास, रूपान्तरण र बलियो जनआधारका कारण सिंगो क्षेत्र एमालेको पक्षमा एकताबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। गत भदौमा भएको आन्दोलनलाई राजनीतिक नभई आपराधिक क्रियाकलापको संज्ञा दिँदै उनले सो क्रममा भएका मृत्युहरू समेत आपराधिक कार्यकै परिणाम भएको जिकिर गरे।

नगरपालिका र बिजनेस कम्प्लेक्स जलाउने जस्ता उच्छृङ्खल कार्यले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै उनले दमक जस्तो नमुना सहरमा निर्माण भएका संरचनालाई भत्काउनुको सट्टा ‘आईटी हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको औँल्याए।

विदेशी शक्तिको आडमा एमाले र कांग्रेसलाई मिल्न नदिने खेल भइरहेको आरोप लगाउँदै उनले मुलुकलाई अस्थिरताबाट जोगाउनुपर्नेमा जोड दिए।

​अध्यक्ष ओलीले दमक, कमल, गौरादह र गौरीगञ्ज क्षेत्रमा भएका नदी नियन्त्रण, सडक, पुल, विद्युतीकरण र स्वास्थ्य क्षेत्रका विकास निर्माणका कामहरू जनतामाझ छर्लङ्ग रहेको बताए। सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीनको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्दै उनले  एमालेकै पहलमा विपन्न आवास र एकीकृत बस्ती विकासका कार्यक्रमहरू सफल भएको स्मरण गराए।

सम्बन्धित् समाचार