राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावपछि प्रतिनिधिसभामा बहुमतसहित सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको छ।
निर्वाचनको मुखमा महाधिवेशन र आधिकारिता विवादले आक्रान्त बनेको कांग्रेसमा ठूलो विद्रोह हुने आकलन थियो। एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीले आफूइतर समूहका नेताहरूलाई टिकट वितरणमा कञ्जुस्याइँ गरेका थिए।
कांग्रेसमा हुने विद्रोह र एमालेमा असन्तुष्ट देखिएको ठूलो पंक्तिलाई पार्टीमा भित्र्याउने रास्वपाको दाउ थियो। मुख्यगरी मधेस प्रदेशमा कांग्रेस र एमालेका स्थापित नेताहरूलाई पार्टीमा भित्र्याएर त्यहाँ बलियो उपस्थिति जनाउने रास्वपाको योजना थियो। तर, त्यसमा रास्वपा असफल देखिएको छ।
मधेसवादी दलमा हुने विद्रोहको पनि फाइदा उठाउने तयारीका साथ मनोनयन दर्ताको अघिल्लो दिन सभापति रवि लामिछाने जनकपुरमा थिए। रास्वपा प्रवक्ता मनिष झाले कोसिस नगरेका पनि होइनन्। तर, अमरेश सिंह र रहबर अन्सारी बाहेक स्थापित नेता रास्वपामा प्रवेश गरेनन्।
दल बदल्ने उम्मेदवारहरूको रोजाइमा पुरानै दल परेका छन्। नेताहरूले दल बदली गर्दा रास्वपा भन्दा एमाले, कांग्रेस र नेकपा नै रोजेको देखियो। यद्यपि, कांग्रेसबाट कारबाही भोगेका केही नेताहरूले भने रास्वपा रोजेका छन्।
यस पटक तराई–मधेसमा दल अदल–बलदल सबैभन्दा बढी भएको छ। नेपाल सद्भावना पार्टीका अनिलकुमार झाले आफ्नो पार्टी कांग्रेसमा विलय गराएर रौतहट–१ बाट उम्मेदवारी दिए। तराई–मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीबाट २०४७ मै विद्यार्थी राजनीति सुरु गरेका झा पहिलो पटक मूलधारको पार्टीमा प्रवेश गरेका हुन्।
राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टीको नेतृत्व तहमै रहेका पूर्वमन्त्री झालाई कांग्रेसका सभापति गगन थापाले रौतहट–१ को टिकट थमाए। कांग्रेसको उम्मेदवार बनेर झाले नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्दै छन्। चुनावको मुखमा झा भित्रिँदा कांग्रेसका पुराना नेता वीरेन्द्रकुमार कनौडिया भने एमाले छिरे। व्यवसायी पृष्ठभूमिका कनौडिया कपिलवस्तु–३ बाट एमाले उम्मेदवार भएका छन्।
कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद र तत्कालीन प्रदेश संसदीय दलका नेता पनि थिए। २०७४ मा कपिलवस्तु– ३ को प्रदेशसभा (ख) बाट निर्वाचित उनी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट राप्रपाका जानकीप्रसाद यादवसँग पराजित भएका थिए।
कांग्रेस नेता प्रमोदकुमार यादवले टिकट नपाएपछि एमाले प्रवेश गरी रूपन्देही–४ बाट उम्मेदवारी दर्ता गरेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट रुपन्देही –४ मा निर्वाचित यादव २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए। जनमतका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह मा दल बदलेर सप्तरी–२ मा उम्मेदवार बनेका छन्।
जनमतबाट प्रदेश सांसदमा निर्वाचित उनी स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। जसपा नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले माघ ४ गते एमाले प्रवेश गरी बाँके–२ बाट उम्मेदवारी दिएका छन्। बाँके– २ बाट २०६४, २०७४ मा निर्वाचित भएका उनी २०७० को दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधिसभामा भने पराजित भएका थिए। तीन पटक मन्त्री बनेका राई राप्रपा, मधेसवादी दल हुँदै एमालेमा पुगेका हुन्।
यस्तै, जसपा नेपालका अर्का नेता तथा पूर्वमन्त्री प्रदीप यादव पनि माघ ४ मा एमाले प्रवेश गरी पर्सा–१ बाट उम्मेदवार भएका छन्। अशोक राई नेतृत्वको जसपाबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेको तीन हप्तामै उनी एमालेमा पुगेका हुन्।
राप्रपाको विद्यार्थी राजनीतिबाट उदाएका प्रदीप २०६४ को मधेस आन्दोलनमा तत्कालीन संघीय सामाजवादी फोरम नेपाल पर्सा उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका थिए। २०७० को दोस्रो संविधानसभामा पराजित उनी ०७४ र ०७९ को निर्वाचनमा पर्सा–१ बाट निर्वाचित भएका थिए।
एमालेबाट टिकट नपाउने भएपछि केही नेता बाहिरिएका पनि छन्। एमालेका पूर्वसांसद बृजेशकुमार गुप्ताले नेकपामा प्रवेश गरी कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन्। २०५६ सालमा राप्रपाबाट सांसद निर्वाचित भएका उनी २०६४ मा तमलोपाबाट संविधान सभा सदस्य बनेका थिए।
२०७४ मा एमालेबाट सांसद बनेका उनी २०७९ मा पराजित भएका थिए।
त्यस्तै, नेकपाका धर्मनाथ साह एमाले प्रवेश गरेर सिरहा–४ मा उम्मेदवार भएका छन्। माधव नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्जसमेत रहेका साह नेकपामा केन्द्रीय सदस्य थिए। २०७९ को निर्वाचनमा पराजित उनी तत्कालीन एमालेबाट दुईपटक सांसद र एकपटक मन्त्री भएका थिए।
जसपाका नेता आत्मराम साहले मंगलबार आम जनता पार्टी प्रवेश गरी बारा–२ मा उम्मेदवारी दिएका छन्। संविधान सभा सदस्य रहिसकेका आत्मराम माघ ६ मा जसपा छाडेर प्रभु साह अध्यक्ष रहेको आजपामा प्रवेश गरेका थिए।
जसपाका नेता डा वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरी सिरहा २ बाट उम्मेदवार बनेका छन्। महतो २०७९ सालमा सिरहा–४ बाटै विजयी भएका थिए भने २०६४ र २०७० मा समानुपातिक सांसद थिए।
रास्वपाको उम्मेदवारी छनोटमा पनि नवप्रवेशीले प्राथमिकता पाएका छन्। नेकपाका रहबर अन्सारी रास्वपाबाट बारा–४ बाट उम्मेदवार बनेका छन्। तत्कालीन माओवादी केन्द्रबाट मधेस प्रदेशका निवर्तमान सांसद अन्सारी पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्। यस्तै स्वतन्त्र सांसद रहेका अमरेशकुमार सिंह पनि रास्वपा प्रवेश गरी सर्लाही– ४ बाट उम्मेदवार बनेका छन्।
दुई पटक कांग्रेसबाट निर्वाचित सिंहले ०७९ मा स्वतन्त्र रुपमा चुनाव जितेका थिए। कांग्रेस उम्मेदवारविरुद्ध उठेपछि कारबाहीमा परेका सिंह रास्वपाबाट कांग्रेस सभापति गगन थापाकी प्रतिस्पर्धी बनेका छन्।
यसअघि प्रदेश सांसद रहेका लोसपाका कन्हैया बानियाँ रास्वपाबाट रूपन्देही–४ मा उम्मेदवार बनेका छन्। कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पनि रास्वपाबाट पश्चिम नवलपरासी–१ मा उम्मेदवार बनेका छन्।
कांग्रेस नेता तथा पूर्वप्रहरी उपरीक्षक विक्रमसिंह थापा रास्वपा प्रवेश गरेर कपिलवस्तु–२ मा उम्मेदवार बनेका छन्। २०७९ निर्वाचनमा प्रदेश सांसदमा पराजित थापा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। यस्तै राप्रपाका प्रकाश रजौरिया अन्तिम समयमा रास्वपा प्रवेश गरेर कपिलवस्तु–३ मा उम्मेदवार बनेका छन्। राप्रपाका बागमती प्रदेश सांसद् सुनिल केसी पदबाट राजीनामा दिएर काठमाडौँ–२ मा रास्वपाबाट उम्मेदवार बनेका छन्। काठमाडौं–२ को प्रदेशसभा (क) बाट चुनाव जितेका केसी कार्यकाल पूरा नगरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।
यस्तै एमाले छाडेर निवर्तमान सांसद किरण साह नेकपा प्रवेश गरी रौतहट २ मा नेकपाबाट उम्मेदवार बनेका छन्। ०७९ निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएपछि साह एमाले प्रवेश गरेका थिए। एमालेबाट टिकट नपाउने देखेपछि उनी नेकपाको उम्मेदवार भएका छन्। तराई–मधेसमा मात्र होइन, पहाडमा पनि दल बदलेर उम्मेदवार बनेका छन्।
सुदूरपश्चिमको पहाडी जिल्ला अछाम–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका दीपक साउदले एमालेबाट मनोनयन दर्ता गराए। एमाले उम्मेदवार झपट बोहराको टिकट खोसेर एमालेले साउदलाई उम्मेदवार बनायो।
यस्तै अछाम–२ मा कांग्रेस नेता बलबहादुर कुँवर पनि उम्मेदवारी दर्ताका दिन नेकपा प्रवेश गरेर चुनावी मैदानमा उभिए। कांग्रेसको उम्मेदवार बनेर २०७० मा प्रतिनिधिसभा र ०७४ मा प्रदेशसभा निर्वाचनमा पराजय भोगेका कुँवर नेकपाबाट अछाम–२ मा उम्मेदवार बनेका छन्। यस्तै एमालेका अम्बिरबाबु गुरुङ पनि नेकपा प्रवेश गरेर ओखलढुंगाबाट उम्मेदवार बनेका छन्। कांग्रेस नेता मनमोहन भण्डारी पनि रास्वपाबाट बैतडीमा उम्मेदवार बनेका छन्।








