गृहपृष्ठ Featured बालेन अस्त्र: मेयर हुन सामाजिक सञ्जाल, सांसद बन्न धर्म-सन्देश !

बालेन अस्त्र: मेयर हुन सामाजिक सञ्जाल, सांसद बन्न धर्म-सन्देश !

राजनीति गर्नेले जनताको मन जित्न अनेकौँ उपाय लगाउँछन्। कसैले आशा देखाउँछन्, कसैले त्रास। कसैले एकताको कुरा गर्छन्, कोही विभाजन ल्याउँछन्। कोही भने उनीहरूको धार्मिक आस्थालाई उपयोग गर्छन्।

पछिल्लो गतिविधिलाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले धार्मिक भावनालाई उपयोग गर्न खोजेको प्रस्टै देखिन्छ।

पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्न लागेका बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। फागुन २१ गते हुने चुनावमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि उनी चुनावी अभियानमा होमिएका छन्। उनको चुनावी अभियानको सुरुवात नै किरात धर्मगुरु आत्मानन्दको आशीर्वाद ग्रहणबाट भयो।

रास्वपाका नेताहरूका अनुसार आत्मानन्द काठमाडौँ आएको मौकामा बालेनले भेट गरेका थिए। किराती धर्मगुरुले बालेनलाई टाउकोमा दुवै हात राखेर आशीर्वाद दिँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो।

त्यसपछि माघ ४ गते नै जनकपुर पुगेका बालेनले माघ ५ गते बिहान हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा पूजाअर्चना गरे। अनि त्यही दिन जनकपुरमै ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गरे, जहाँ उनले भने– जय जानकी माता। त्यसपछि झापा पुगेका उनले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गरे।

दुई दिन दमकमै बसेर मतदाता भेटेका बालेन बिहीबार भने इलाम, पाँचथर हुँदै ताप्लेजुङको पाथीभरा उक्लिए। सम्भव भएजतिका स्थानीय र तीर्थालुहरूसँग भलाकुसारी गरे। शुक्रबार बिहानै ताप्लेजुङको पवित्र शक्तिपीठ पाथीभरा पुगेर पूजाअर्चना गरे, अनि लेखे– जय पाथीभरा, जय मुक्कुमलुङ।

‘पाथीभरा मातालाई किरात र लिम्बूहरूले मुक्कुमलुङ भन्छन्, बालेनले दुवैथरीलाई खुसी बनाउनेगरी स्टाटस लेख्नुको कारण त्यही हो,’ रास्वपाका नेता मिलन लिम्बूले भने।

त्यति मात्र होइन, बालेनले लिम्बूहरूले सांस्कृतिक प्रतीक बनेको सिलामसाक्मा पनि लगाए।

काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि २०७९ वैशाख २४ गते मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रम रजतपटमा बालेनले धर्मबारे मुख खोलेका थिए।

‘म आफूलाई हिन्दु बुद्धिस्ट भन्ने गर्छु, जन्मजात हिन्दु हुँ,’ त्यसबेला उनले भनेका थिए, ‘बुद्धले देखाएको बाटो अनुसरण गर्छु, म बुद्धको ज्ञान र सन्देशबाट परिचालित मान्छे हो। हामी व्यवहारमा हिन्दु हुनुपर्छ, लिखितरुपमा चाहिँदैन।’

मेयर जित्नुअघि पनि बालेनले नेवार समुदायसँग निकट रहन विभिन्न उपाय अपनाएका थिए।

२०७९ वैशाखमा काठमाडौँ महानगरपालिकाको मेयर लड्दा उनले सामाजिक सञ्जालको भरपूर उपयोग गरेर जित हासिल गरेका थिए। काठमाडौँका युवाको मन जित्न सामाजिक सञ्जालको सहारा लिएका उनले आफ्नो निर्वाचन क्षेत्र झापाका पुराना दलमा आवद्ध मतदातासँग जोडिन धर्मलाई पनि माध्यम बनाएका छन्।

त्यसो त रास्वपाले यसपाली निर्वाचन प्रचार अभियानमा जनभावनालाई नजिकबाट छुन देशभर नै मठ–मन्दिर पुगेर धार्मिक पक्षलाई जोड्ने रणनीति नै बनाएको छ।

‘धेरै सभा, भाषणभन्दा जनभावना सिधै छुन हल्का धार्मिक फ्लेभर दिने भन्ने छ निर्वाचन अभियानका बेला’, रास्वपाका एक नेता भन्छन्।

विगतका चुनावहरूमा उम्मेदवारहरू झण्डा र ब्यानर बोकेर टोल–टोलमा चर्काे भाषण गर्ने चलन सायद त्यही रणनीतिअनुसार बालेनले यसपटक फेरिदिएका छन्।

स्थानीय सरकार हाँकेको अनुभव लिएर सिंहदरबार पुग्ने योजनासहित झापा झरेका बालेनले सुरुवातदेखि नै धार्मिक गतिविधि गरेर मतदाताको मन जित्ने रणनीति लिएको रास्वपाकै नेताहरूको भनाइ छ।

उनीहरूका अनुसार बालेन अब जहाँ–जहाँ चुनावी सभामा पुग्छन्, त्यहाँका स्थानीय मन्दिर वा धार्मिक स्थलमा पुगेर मात्र कार्यक्रम अघि बढाउनेछन्।

किरात धर्मगुरुको आशीर्वाद, जानकी मन्दिरको दर्शन र पाथीभराको पूजा। यी सबै गतिविधिले बालेन मधेसी, पहाडी र जनजाति मतदाताको मन एकैपटक जित्ने रणनीतिमा रहेको देखाउँछ।

सिधै धर्मलाई चुनावी एजेन्डा नबनाए पनि धर्मसँग जोडिएर मानिस भेट्दा त्यसले दिने सन्देश निकै प्रभावशाली र भावनात्मक हुने उनको बुझाइ छ।

तराईको जानकी मन्दिरदेखि पहाडको पाथीभरासम्म बालेनले कोरेको यो आध्यात्मिक रेखाले झापा ५ को निर्वाचनलाई थप रोचक बनाएको छ। तर, उनले मतदाताको मन कति पगाल्न सक्छन्, फागुन २१ पछि मात्र थाहा हुनेछ।

तर, एउटा कुरा भने प्रस्ट छ– चुनाव जित्न उनी नयाँनयाँ अस्त्रको खोजी गरिरहेका छन्।

सम्बन्धित् समाचार