विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हमादले देशका ३४ मध्ये १५ प्रान्त यस प्राकृतिक विपद्बाट प्रभावित भएको जानकारी दिए । सयौँ गाउँहरूको सम्पर्क विच्छेद भएको छ, धेरै सडकहरू हिउँले ढाकिएका छन् र दुर्गम इलाकाहरूसम्म पुग्न प्रशासनका लागि ठुलो चुनौती बनेको छ ।
तथ्यांकअनुसार ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् र ठूलो संख्यामा चौपायाहरूको पनि मृत्यु भएको छ । यसले पहिलेदेखि नै आर्थिक संकट झेलिरहेका मानिसहरूको समस्या थप बढाएको छ । अधिकारीहरूका अनुसार दुर्गम क्षेत्रहरूबाट थप जानकारी प्राप्त भएसँगै मृतक र घाइतेको संख्या बढ्न सक्ने सम्भावना छ ।
स्थिति अझ गम्भीर हुनुको अर्को कारण देशको पूर्वी भाग अझै पनि गत वर्षको शक्तिशाली भूकम्पको असर हो । अगस्ट र नोभेम्बरमा आएका ती भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौँ परिवार घरबारविहीन भएका थिए ।
युनिसेफका अनुसार भूकम्प प्रभावित क्षेत्रका करिब २.७ लाख बालबालिका अत्यधिक चिसो र रोगको गम्भीर जोखिममा छन् । त्यस्तै, संयुक्त राष्ट्र संघले हालै चेतावनी दिएको थियो कि सन् २०२६ सम्म अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मानवीय संकटको केन्द्र बनिरहनेछ ।
संयुक्त राष्ट्र संघ र यसका साझेदार संस्थाहरूले अफगानिस्तानमा करिब १.८ करोड खाँचोमा परेका मानिसहरूको सहयोगका लागि १.७ अर्ब डलरको आपत्कालीन अपिल समेत जारी गरेका छन् ।








