लोकप्रिय गायक प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आमनागरिकको मुहारमा अन्तिम आशा र उत्साह देखिएकोले उनीहरूलाई निराश नपार्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई आग्रह गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत सपुतले यस्तो आग्रह गरेका हुन् ।
‘अब अन्तिमपटक म र मजस्तै आम नेपालीहरूले कुनै व्यक्ति र शक्ति (दल)लाई विश्वास गर्दै छन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु । अब तपाईहरूलाई निराश बनाउने छुट छैन’, सपुतले भनेका छन् ।
रवि र बालेनसँग अलग–अलग भेट गरेका तस्वीर साझा गर्दै सपुतले आफ्ना थुप्रै समर्थकको मन दुखाएर रास्वपा प्रवेश गरेको पनि बताएका छन् ।
‘मैले बडो दुःख, संघर्ष, मिहिनेत र धैर्यताले खारिएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक स्रोताको मन दुखाएर तपाईंहरूसँग हातेमालो गर्दै छु । पेसा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’, सपुतले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले मसँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौँ । हामी सँगै देशले जित्नेछ ।’
सपुतले आजैदेखि रास्वपाको अभियानमा जोडिने निधो गरेको पनि बताएका छन् । ‘कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु’, सपुतले भनेका छन् । सपुत रास्वपाबाट समानुपातिकतर्फ दलित कोटामा प्रतिनिधिसभा उम्मेदवार छन् ।








