गृहपृष्ठ Featured कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजनाले पायो पूर्णता

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजनाले पायो पूर्णता

झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्‌ प्रसारण आयोजनाले अन्ततः पूर्णता पाएको छ ।

दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत्‌ चार्ज गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा आयोजना अघि बढेको थियो । सम्झौताअनुसार २३ असार २०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गा भोगाधिकार, रुख कटान र स्थानीयको अवरोधले चार वर्षपछि धकेलिएको हो ।

कठिन भूगोल रहेको सुर्खेतको हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भएसँगै वीरेन्द्रनगर नगरपालिका– ११, सुब्बाकुनामा निर्माण भएको सबस्टेसनमा शुक्रबार (१६ माघ)मा उच्च भोल्टसहितको विद्युत्‌ छोड्ने तयारी गरिएको छ । आयोजनाका अनुसार अहिले सुर्खेतको छिन्चु–भेरी नदी खण्डमा जम्पर जडान भइरहेको छ । कोहलपुरदेखि सुब्बाकुना सबस्टेसनसम्मको ५२ किलोमिटर दूरीमा पोल तथा तारमा रुखका हाँगा–बिँगा छोए नछोएको यकिन गर्न पेट्रोलिङ कार्यसमेत सुरु भइसकेको छ ।

आयोजनाले पूर्णता पाउन थालेसँगै लामो समयदेखिको प्रतीक्षा समाप्त भएको छ । प्रसारण लाइन सुचारु भएपछि कर्णालीमा विद्युत्‌ आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ । आयोजनालाई पूर्णता दिन कर्णालीका स्थानीय तथा प्रदेश सरकारको बारम्बार संघीय सरकारलाई दबाब दिँदै आएका थिए ।

सम्बन्धित् समाचार