माघ २६ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ।
कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए। तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षती पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।








