वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ बाट नेकपा (एमाले) तर्फ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विश्राम प्रसाद चौधरीले जनताको मुद्दालाई सदनमा प्रभावकारी रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाणगंगा नगरपालिका वडा नं. २ मा आयोजित विस्तारित बैठक तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले यस क्षेत्रका जनताको आधारभूत आवश्यकता तथा समस्या संसदमा पुर्याएर समाधानका लागि बहस गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले एमाले सरकारको कार्यकालमा देशभर विकास निर्माणका उल्लेखनीय काम भएको दाबी गर्दै अन्य कुनै दलले एमालेले जति विकास गर्न नसकेको बताउनुभयो । चौधरीले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।
उम्मेदवार चौधरीले जनताको समस्या, अपेक्षा र आवश्यकता अनुसार संसदमा आवाज उठाउँदै विकास निर्माण र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।








