गृहपृष्ठ Featured कपिलवस्तुमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा अचानक आगलागी

कपिलवस्तुमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा अचानक आगलागी

तौलिहवा ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७ ख ६०४८ नम्बरको यात्रुबाहक बसमा आगलागी भएको छ।

तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरिया क्षेत्रमा बिहान करिब ४ बजे आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा बायाँ चक्काबाट अचानक आगलागी सुरु भएको थियो। आगो लागेपछि बस सडक छेउमा रोकिएको थियो।

आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी तथा कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले प्रयास गरे पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जानकारी दिएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको र बसमा सवार ४४ जना यात्रु सबै सकुशल रहेको प्रहरीले जनाएको छ। आगलागीका कारण यात्रुहरूको बसमा रहेको केही सामग्रीसमेत जलेर नष्ट भएको बताइएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

सम्बन्धित् समाचार