कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु- १ का एमाले उम्मेद्वार विश्रामप्रसाद चौधरीका चुनावी गतिविधि तीब्र बनाउने गरि बाणगंगा नगरपालिका( ८ बोडगाउँमा निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरेको छ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार चौधरीले कपिलवस्तुको भूगोल, माटो र गाउँले परिवेशलाई नजिकबाट बुझेको उल्लेख गर्दै आफू यस क्षेत्रका जनताको भावना र आवश्यकता बुझ्ने योग्य उम्मेद्वार भएको दाबी गर्नुभयो।
यो माटो सुहाउँदो उम्मेद्वार आफु नै भएको भन्दै उहाँले आफू सामान्य परिवारबाट संघर्ष गर्दै यहाँसम्म आएको व्यक्तित्व भएकाले जनताका वास्तविक सुख–दुःख र समस्या नजिकबाट बुझ्ने स्पष्ट जानकार रहेको बताउनुभयो।
उम्मेद्वार चौधरीले विगतमा पनि विकासका सवालमा स्पष्ट योजना र प्रतिबद्धता सहित काम अगाडि बढाएको जिकिर गर्दै अब पनि जनअपेक्षा अनुसार परिणाममुखी विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“म कुरा होइन, काममा विश्वास गर्ने पात्र हुँ,” भन्दै उहाँले जनताको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो।
चौधरीले आफू सधैं जनताकै बीचमा रहने र जनसेवामै जीवन समर्पित गर्ने तर्क गर्दै आगामी निर्वाचनमा जनताको साथ र समर्थन आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा एमालेका केन्द्रीय नेता, स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।








