चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ । अदालतले उनलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढकरोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।
हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता यादवले सन् २०१० मा दिल्लीका एक व्यवसायीसँग ५ करोड भारु ऋण लिएको बताइन्छ । उनले सो रकम आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘अता पता लापता’ मा लगानी गरेका थिए ।
तर फिल्मले बक्स अफिसमा सफलता नपाएपछि उनले ऋण तिर्न सकेनन् । उनी निकटका व्यक्तिहरूका अनुसार उनले वर्षौंदेखि प्रयास गरे पनि ब्याज बढ्दै जाँदा पूरा रकम तिर्न सकेनन् र अन्ततः यो रकम करिब ९ करोड भारु पुगेको थियो ।