गेटी इमेजेज
थाइल्यान्डको उत्तरमा रहेको निजी रूपमा सञ्चालित ‘टाइगर किङ्गडम’ चियाङ माई पार्कमा पछिल्ला हप्ताहरूमा भाइरस र ब्याक्टेरियाको सङ्क्रमणले कम्तीमा ७२ वटा बाघ मरेका छन् ।
परीक्षणका क्रममा मरेका बाघमा अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वासप्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरिया पत्ता लागेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
बाघ बिरामी पर्दा बिरालो वा कुकुरजस्ता जनावरहरूको तुलनामा पत्ता लगाउन गाह्रो हुने र बिरामी भएको थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनामुङ्गक्लानोनले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो ।
यो घटनापछि पार्क दुई हप्ताका लागि बन्द भएको र अनुसन्धान पनि शुरू भएको खबरमा उल्लेख छ । जीवित बाघहरूलाई नजिकबाट निगरानीका लागि चियाङ माई प्रान्तको उत्तरी भागमा रहेको माई ताइङ जिल्लामा रहेको पार्कको हेरचाह केन्द्रमा सारिएको छ ।








