गृहपृष्ठ Featured उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने छ ।

घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेका कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सावित्राले सामाजिक सञ्जालमार्फत बताएकी छन् । चोट गम्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने उनको इच्छा छ ।

सावित्राले उपचारका लागि एन्फा र सरकारबाट सहयोग नपाएको गुनासो गरेकी छन् । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभएको थियो । यसअघि मैले चालेको प्रक्रिया रोकियो, झण्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ,’ उनले भनिन् ।

सरकारी प्रक्रियासमेत अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको सावित्राले दु:खेसो गरिन् । ‘सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर, सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न नसक्दा मैले भर परेर बस्न सक्ने स्थिति छैन,’ उनले लेखेकी छन् ।

वेलिङ्टन फिनिक्सबाट अस्ट्रेलियन ‘ए’ लिग खेल्ने क्रममा डेढ महिनाअघि ब्रिसबेन रोअरकी गोलकिपरसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएलमा गम्भीर चोट लागेको थियो ।

सम्बन्धित् समाचार