गृहपृष्ठ Featured छानबिन समिति बनाएपछि कपिलवस्तु कारागारको अवस्था सामान्य

छानबिन समिति बनाएपछि कपिलवस्तु कारागारको अवस्था सामान्य

कपिलवस्तु — कपिलवस्तु कारागारभित्र कैदीबन्दीमाथि भएको कुटपिट र दुर्व्यहार गर्नेलाई कारबाही गर्न छानबिन समिति गठन भएपछि कारागारको अवस्था सामान्य बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा मंगलबार चार सदस्यीय समिति बनाइएको हो । समितिले सक्दो छिटो प्रतिवेदन बुझाउने गरी काम थालेको संयोजक घिमिरेले बताए ।

सोमबार दिउँसो २ बजेबाट अशान्त बनेको कारागारको दुई नम्बर ब्लक २४ घण्टापछि मंगलबार दिउँसोबाट शान्त बनेको हो । छानबिन समिति गठन भएलगत्तै कैदीबन्दीले कारागारको ब्लक नम्बर २ को मुख्य ढोका खोलेको जेलर मानबहादुर शाहीले बताए । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनार्दन गौतमसहितका सुरक्षा अधिकारीको टोली कारागार पुगेर घटनाका दोषीलाई कारबाही गर्न छानबिन समिति बनाएपछि कारागारको अवस्था सामान्य बन्दै गएको हो ।

कैदीबन्दी नारायण वलीको समूहले चौकीदार नाइकेको टोलीले गुणस्तरहीन खाना दिने गरेको, नयाँ आउने कैदीबन्दीलाई कुटपिट गर्ने गरिएको, नयाँ आउने कैदीबन्दीसँग शुल्क उठाउने गरिएको, टेलिफोन, मोबाइलमा कुरा गर्न अत्यधिक शुल्क लिने गरिएको गुनासो गरेका छन् । त्यस्तै कारागारभित्र धाकधम्की दिने गरेको र प्यारोल सिफारिस गर्दा शुल्क लिने गरेको लगायतका १८ बटा गुनासा लिखित दिएका छन् । तिनै गुनासोमाथि टेकेर छानबिन थाल्ने संयोजक घिमिरेले बताए ।

कारागारको दुइ नम्बर ब्लकका चौकीदार दामोदर थारु र मूल नाइके केयरसिंह खत्रीसहितका समूहले कैदीबन्दी मोहम्मद हनिफ मुसलमान, सुजन विक, निरज कार्की तथा हबिबुर रहमानलाई शनिबार निर्घात कुटपिट गरेपछि विवाद बढ्दै गएको थियो । त्यसलगत्तै २ नम्बर ब्लकमा कैदीबन्दीको समूहबीच आइतबारदेखि नै विवाद सुरु भएको थियो ।

सम्बन्धित् समाचार