सुतेकै ठाउँमा १५ वर्षीय किशोरको हत्या गरेको आरोपमा पाँचथर प्रहरीले एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ।
फाल्गुनन्द गाउँपालिका-७ का वडाध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन्।
आङदेम्बेकै घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते मृत्यु भएको थियो।
नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा उनी मृत फेला परेका थिए।
घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए।
२०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि देउ कुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।
सोही जाहेरीका आधारमा जिल्ला अदालत पाँचथर, फिदिमबाट २०८३ असार १० गते उनीविरुद्ध पक्राउ अनुमति जारी भएको थियो।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले २०८३ असार २३ गते फिदिम नगरपालिका ४, फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।
पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई सात दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।







