काठमाडाैंकाे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ ।
उनको स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले चिकित्सकहरूको सुझावअनुसार तत्काल हवाई यात्रा नगराउने निर्णय भएको हो । प्रारम्भिक रूपमा उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रेफर गर्ने तयारी गरिएको भए पनि पछिल्लो स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि उक्त योजना स्थगित गरिएको स्रोतले जनाएको छ ।
सरकारले भारत पठाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । उनलाई विमानस्थलसम्म पुर्याउन सुरक्षा व्यवस्थासमेत मिलाइएको थियो । तर, चिकित्सकहरूले हालको अवस्थामा विदेश लैजान उपयुक्त नरहेको निष्कर्ष निकालेपछि उपचार नेपालमै निरन्तर अघि बढाइने भएको छ ।त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् । नेपालीको अहिले वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचार भइरहेको छ । उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातिदेखि निरन्तर खटिएका छन् ।







