अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष २०८२/८३ मा लेक लागेर २५ जना पर्यटकको ज्यान गएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा १२ नेपाली, ९ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका १–१ जना रहेका छन् । यसमध्ये ४ जना पथप्रदर्शक र भरिया छन् ।
मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना धेरै भएका हुन् । सबैभन्दा धेरै मुस्ताङमा १५, मनाङमा ८ तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा १–१ जनाको ज्यान गएको छ ।
अघिल्लो आर्थिक वर्षमा लेक लागेर १९ जनाको ज्यान गएको थियो ।
सडकमार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ । गाडी वा मोटरसाइकलबाट एकैदिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढेको आयोजना प्रमुख डा. कडरियाले बताउनुभयो ।
पथप्रदर्शकहरूका अनुसार उच्च पहाडी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ । लेक लाग्नबाट बच्न पदयात्रा गर्दा १ दिनमा ५०० मिटरभन्दा धेरै उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ ।







