नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर गएको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्।
‘‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने।
यस्तै, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताए। ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं। कहिँ पनि भ्रम नहोस्,’ खड्काले भने, ‘यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस्।’
सम्मानका लागि पञ्चायतमा पनि लडिएको भन्दै खड्काले बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न नसक्ने बताए।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तय गर्ने बताए। ‘यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं। त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ। के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्,’ सिटौलाले भने।







