गृहपृष्ठ Featured १० महिनामा ९० डाक्टरमाथि कुटपिट

१० महिनामा ९० डाक्टरमाथि कुटपिट

काठमाडौँ — आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा मंगलबार देशभर कार्यरत चिकित्सकले आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा भएको हडतालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन् ।

‘स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिइरहेका छन्, तर राज्य मूकदर्शक बनेर बस्यो,’ संघका वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारीले भने, ‘डाक्टरमाथि जहाँ भेट्यो त्यहीं आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जालमार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयौं । डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ ?’

मंगलबार चिकित्सकले गरेको देशव्यापी हडताल शनिबार वीरगन्जस्थित नारायणी अस्पतालको घटनापछि सुरु भएको हो । उपचाररत एक ४५ वर्षीय मुटुरोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।

ड्युटीमा रहेका डा. प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो । उनलाई काठमाडौं ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था खतरामुक्त छ । संघका अनुसार वीरगन्जको घटना पछिल्लो उदाहरण मात्र हो । प्रत्येक साता दुईदेखि तीन जना चिकित्सकमाथि कुटपिट वा गालीगलौज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन् । कतिपय अवस्थामा अस्पताल र चिकित्सकको कोठामा जबर्जस्ती प्रवेश गर्ने, भिडियो बनाउने र धम्काउने कामसमेत हुने गरेको संघले जनाएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा राखेर चिकित्सक र उनीहरूका परिवारलाई समेत बदनाम गर्ने गरिएको संघका प्रतिनिधि बताउँछन् ।

‘पछिल्लो १० महिनामा ९० भन्दा बढी चिकित्सकमाथि कुटपिट तथा गालीगलौज र धम्कीका घटना भएका छन्,’ डा. तिवारीले भने, ‘सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन् र कतिपय घटना स्थानीय तहमै मिलाइन्छन् ।’ संघले कुटपिट वा दुर्व्यवहारसम्बन्धी घटनामा औपचारिक रूपमा उजुरी दर्ता भएका अवस्थामा मात्र प्रेस विज्ञप्ति जारी गर्ने गरेको छ ।

सम्बन्धित् समाचार