गृहपृष्ठ Featured रास्वपाकै सांसदले भने- यो सरकारबाट परिवर्तन महसुस भएन

रास्वपाकै सांसदले भने- यो सरकारबाट परिवर्तन महसुस भएन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको बताए।

‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले त परिवर्तन महसुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनु?, उनले प्रश्न गरे।

सांसद पन्तले अस्पतालमा चिकित्सकमाथि भएको हातपात र देशभरका स्वास्थ्यकर्मी आन्दोलित हुँदा सर्वसाधारणले उपचार नपाएको विषयमा संसद्को ध्यानाकर्षण गराए। गत शनिवार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो। त्यस क्रममा चिकित्सकमाथि हातपात भएको र त्यसको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलित भएका थिए।

सांसद पन्तले उक्त घटनाको सूक्ष्म अध्ययन गरी दोषीलाई कानुनी कारबाही गर्न र निर्दोष व्यक्ति पक्राउ परेका भए तत्काल रिहा गर्न माग गरे।

सांसद पन्तले सरकारले जनचाहनाअनुसार आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

सम्बन्धित् समाचार