विराटनगरको न्युरो अस्पतालमा उपचाररत सुनसरी, देवानगन्ज-३, कप्तानगन्जका २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ।
देवानगन्जमा भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका मेहताको बिहीबार दिउँसो १:२४ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो। जयप्रकाशको मृत्युसँगै उक्त झडपमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
उक्त घटनामा परी घाइते भएका अन्य व्यक्तिहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय अम्लेश मेहता, १८ वर्षीय मिथिलेश मेहता र २८ वर्षीय हेराम यादव उपचाररत छन्।
यस्तै विराट नर्सिङहोममा देवानगन्ज–३ का चार जना घाइतेको उपचार भइरहेको छ, जसमध्ये २१ वर्षीय रविन्द्र मेहताको अवस्था गम्भीर छ।
सोही अस्पतालमा १८ वर्षीय अमितकुमार यादवका साथै २५ र २६ वर्षका दुई जना सुनिलकुमार मेहताको उपचार भइरहेको छ। नोबेल अस्पतालमा भने देवानगन्ज–४ का २० वर्षीय अमित कुमार यादव उपचाररत छन्।








