गृहपृष्ठ Featured देवानगञ्ज घटनाः सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति

देवानगञ्ज घटनाः सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच औपचारिक सम्झौता भएको हो। सहमतिअनुसार सरकारले मृतक दुवैलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कानुनी कारबाही अघि बढाइने सहमति भएको छ।

मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस शीघ्र कार्यान्वयन गर्ने र स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

सम्झौता पत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने भएको छ।

सम्बन्धित् समाचार