काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ ।
नयाँ व्यवस्थाअनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ ।
आवेदनपछि ४ चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ । जसमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण पास हुनु अनिवार्य छ । त्यसपछि २५ प्रतिशत भाराङ्कको जनसम्बन्ध र लोकप्रियता मापन गरिने ‘पोलिटिकल प्रोक्सिमिटी’ र १० प्रतिशत भाराङ्कको ‘समावेशी सम्बोधन’ रहनेछ ।
सबैभन्दा धेरै ४० प्रतिशत भाराङ्क भने ‘पार्टीको आन्तरिक चुनाव’ लाई दिइएको छ । आन्तरिक मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन् ।
आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कडा आचारसंहिता ल्याएको रास्वपाले जनाएको छ । असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतले सीधै उम्मेदवार चयन गर्न सक्नेछ ।






