काठमाण्डौ – गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै नवलपरासीमा ९७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा ६० देखि ८८ मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकालगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा आरीघोप्टे पानी पर्न सक्ने अनुमान छ । यसैबीच गएराति पानी परे पनि काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकमा नियमित रूपमा गाडी चलिरहेका छन् ।
हिजो बिहान पहिरोका कारण केही समय एकतर्फी मात्रै सञ्चालन भएको यो सडकमा दिउँसोदेखि नियमित रूपमा गाडी चलिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।





