गृहपृष्ठ खबर हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने

हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने

काठमाडौँ — अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ ।

बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए । पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा बताए ।

पहिलो सिजनमा आसिफ शेख मार्की खेलाडी रहे पनि अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो । दोस्रो सिजनमा कमजोर नतिजापछि बोल्टसले अनिललाई हटाएर दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तान बनाएको थियो । उनी पनि घाइते भएपछि बोल्ट्सको कप्तानीको जिम्मेवारी  नामिबियाका जान निकोल लफ्टी इटनले लिएका थिए । जनकपुर ७ मध्येको एक खेलमात्र जिति पुछारमा रहेको थियो ।

आसिफ लुम्बिनी लायन्स लागिसकेका छन् । जनकपुरले उनको स्थानमा ललित राजवंशीलाई मार्की खेलाडी बनाएको छ । पहिलो सिजन जनकपुरलाई विजेता बनाउदा देव्रेहाते स्पिनर ललितले १० खेलमा १७ विकेट लिएका थिए ।

सम्बन्धित् समाचार