वैखरी अनलाइन, कपिलवस्तु ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ५ को नवनिर्मित प्रशासनिक कार्यालय भवन बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शितगंगा नगरपालिका–५, जुकेनामा निर्माण गरिएको उक्त भवनको नगर प्रमुख छविलाल पौडेलले उद्घाटन गर्नुभएको हो ।
करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि वडाबाट प्रवाह हुने सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडा कार्यालयबाट प्रदान गरिने विभिन्न प्रशासनिक तथा सिफारिस लगायतका सेवा लिन सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।
नगर प्रमुख पौडेलले स्थानीय तहबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधार महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्मित भवनले वडा कार्यालयको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो । आफ्नै भवन भएपछि जनप्रतिनिधि तथा कर्मचारीलाई समेत कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा सहजता हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाटले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले व्यवस्थित कार्यालयबाट नागरिकलाई छिटो, सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै वडा नम्बर १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता दामोदर न्यौपानेले भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नवनिर्मित भवनले जनप्रतिनिधि र कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न सहज हुने तथा सेवाग्राहीले समेत सहज वातावरणमा सेवा लिन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुमलाल खनालले वडा कार्यालयको आफ्नै भवन भएपछि कार्यालय सञ्चालनमा सहजता आउने बताउनुभयो । उहाँले आवश्यक पूर्वाधारसहितको कार्यालयबाट नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न थप सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रमणि बेल्बासेले वडाबासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । उहाँले यसअघि विभिन्न कारणले कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा देखिएका कठिनाइलाई नयाँ भवन निर्माणसँगै न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

वडाध्यक्ष बेल्बासेले वडाबासीको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर वडा कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नै भवन निर्माण भएपछि वडा कार्यालयका प्रशासनिक कामहरू व्यवस्थित हुनुका साथै नागरिकलाई आवश्यक सेवा लिन सहज हुने उहाँको भनाइ थियो ।
नवनिर्मित भवनमा आवश्यक प्रशासनिक काम सञ्चालनका लागि विभिन्न संरचना निर्माण गरिएको छ । वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि स्थानीय बासिन्दाले वडा कार्यालयबाट प्राप्त गर्ने सेवा तथा सिफारिसका लागि सहज वातावरणमा सम्पर्क गर्न पाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।







