गृहपृष्ठ Featured सात हजार कुखुराको पोस्टमर्टम गर्दा देखियो १० वटा रोग

सात हजार कुखुराको पोस्टमर्टम गर्दा देखियो १० वटा रोग

चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोस्टमर्टम’ गरेको छ।

चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोस्टमर्टम गरी रोग पहिचान गरिएको हो।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोस्टमर्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो।

प्रयोगशाालाले पोस्टमर्टमबाहेक रोग पहिचानको काम गरेको छ।

एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए।

परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उनले बताए।

ढुसीजन्य रोगका ९ प्रतिशत, सिसिआरडी ४ प्रतिशत, साल्मोनेलोसिस ३.५ प्रतिशतमा देखिएको छ।

यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रमण देखिएको हो।

द्रुत परीक्षणका क्रममा २७८ वटा नमुना परीक्षणका क्रममा ४७ वटामा एभीएन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको छ।

१७६ वटा गम्बारो परीक्षणका क्रममा १०९ मा संक्रमण देखिएको छ।

९९ वटाको रानीखेत परीक्षण गर्दा सात वटामा रोग देखिएको छ भने ४६ वटा आइवी परीक्षणका क्रममा दुई वटामा सङ्क्रमण देखिएको उनले बताए।

यसैगरी, ३६९ वटाको पिएटी विधिबाट नमुना परीक्षणका क्रममा १२ वटामा साल्मोनेला, ३६० वटा नमुना परीक्षणका क्रममा १६ वटामा माइकोप्लाजमा, १८४ वटाको इलाइजा परीक्षणका क्रममा ३८ वटामा माइकोप्लाजमा र १८४ वटाको परीक्षणका क्रममा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) सङ्क्रमण देखिएको उनले जानकारी दिए।

९०० वटा कुखुराको नमुना कल्चर गर्दा  ७८९ नमुनामा संक्रमण देखिएको छ।

सङ्क्रमण देखिएकालाई कुन एन्टीबायोटिक प्रयोग गर्ने भन्ने विषयमा जानकारी सेवाग्राहीलाई दिइएको उनले बताए।

कुखुराजन्य रोगको सङ्क्रमण रोक्नका लागि जैविक सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ।

जैविक सुरक्षा अपनाउन नसक्दा रोगको जोखिम थपिने उनले बताए।

सम्बन्धित् समाचार