काठमाण्डाै – परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित ११ हजार ८०० भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ ।
उद्धार गरिएकामध्ये ३२४ जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पर्कविहीन झन्डै ४००० मध्ये ३९ देशका ५९० जना विदेशी नागरिक रहेका छन् ।
सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको छ । यसका लागि भारत र चीनबाट आएका २ टोली परिचालन गरिएको प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
भारतबाट आएको २४ सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट ९ सदस्यीय टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ ।
यस्तै शव फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फरेन्सिक प्रक्रिया र डीएनए नमूना सङ्कलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयाे ।
भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १००० नाघेको छ ।






