वैखरी अनलाइन, अर्घाखाँची।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अर्घाखाँचीको शितगंगा नगरपालिकाले ३३ लाख ५२ हजार २८१ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रवक्ता दामोदर न्यौपानेका अनुसार नगरपालिकाले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, उद्धार कार्यमा सहयोग पुर्याउने तथा पुनर्स्थापना अभियानलाई सघाउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगर प्रमुख छविलाल पौडेलले प्राकृतिक विपद्को कठिन घडीमा स्थानीय तहले मानवीय दायित्व निर्वाह गर्दै सहयोग गर्ने निर्णय गरिएको बताउँदै यो सहयोगले बाढीपीडित नागरिकलाई राहत पुर्याउन केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे।
शितगंगा नगरपालिकाको यो निर्णयलाई विपद्को समयमा स्थानीय तहबाट देखाइएको सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।







