काठमाण्डाै – गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १२ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।
अहिलेसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ वटा शव भेटिएका छन् ।
प्राधिकरणका अनुसार अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ । यस्तै चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।
यस्तै बाढीमा परेर घाइते भएका पाँच हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेको छ । यसमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।








