यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूहबीचको लडाइँ तीव्र हुँदा हजारौँ मानिस विस्थापित हुनुका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ ।
द्वन्द्व प्रभावित क्षेत्रमा हरेक चारमध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसङ्घको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफए) का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झन्डै ७४ प्रतिशत घरपरिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्; यो यस वर्षकै उच्च तथ्याङ्क हो ।
डब्ल्यूएफएको तथ्याङ्कअनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झन्डै १ करोड मानिस बसोबास गर्छन् ।
खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झन्डै ९० प्रतिशत खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गहिरिँदै छ भन्ने कुरालाई दर्शाउँछ ।
पछिल्लो पटक चर्किएको यो द्वन्द्व खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको डब्ल्यूएफपीका कार्यक्रम सञ्चालन हेर्ने सहायक कार्यकारी निर्देशक म्याथ्यु होलिङवर्थले बताउनुभएको छ ।
डब्ल्यूएफपीले १५ लाख मानिससम्म पुग्ने गरी आफ्नो राहत तथा सहयोग कार्य विस्तार गरिरहेको बताएको छ, तर यसका लागि उसलाई १० करोड ९० लाख अमेरिकी डलर अर्थात् १६ अर्ब ८५ करोड रुपैयाँ आवश्यक पर्छ ।
यमनभरि १ करोड ८३ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन्; यसमा ५ वर्षमुनिका तीव्र कुपोषणबाट पीडित २२ लाख बालबालिका पनि समावेश रहेका विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले सीमापार आक्रमणहरूलाई धेरै हदसम्म रोकेयता साउदी अरब र हुथीहरूबीचको यो द्वन्द्वलाई सबैभन्दा गम्भीर तनाव वृद्धिको रूपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यमनमा १ लाख ४९ हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् ।







