नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले देशभर सञ्चालन गरिरहेको समानान्तर गतिविधिअन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकामा पनि नगर अधिवेशन सम्पन्न भएको छ।
मंगलबार बाणगंगा नगरपालिका–१ बैरियामा सम्पन्न अधिवेशनबाट विष्णुप्रसाद न्यौपाने नगर सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले सभापतिसहित पदाधिकारी र सदस्य गरी ४५ सदस्यीय नगर कार्यसमिति समेत निर्विरोध चयन गरेको हो।
अधिवेशनबाट उपसभापतिमा भगवता बेल्बासे ९महिला० र दुर्गा थापा, सचिवमा बोमबहादुर कुँवर र किशोर चौधरी, सहसचिवमा भोजराज भुसाल ९गोपाल० र खिमा भण्डारी ९पौडेल० तथा कोषाध्यक्षमा बसन्त कँडेल निर्विरोध निर्वाचित भएका छन्। गणेश खड्कासहित ४५ सदस्यीय नगर कार्यसमिति चयन गरिएको जनाइएको छ।
अधिवेशनपछि आयोजित कार्यक्रममा बोल्दै पूर्व क्षेत्रीय सभापति हरिराज घिमिरेले नवनिर्वाचित सभापति तथा कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित भएर अघि बढ्न आग्रह गरे। उनले नयाँ कार्यसमितिले पार्टीको नीति, सिद्धान्त र जनभावनालाई आत्मसात् गर्दै एकताबद्ध भएर काम गर्नुपर्ने बताए।
महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरेले ४५ सदस्यीय कार्यसमिति निर्विरोध चयन हुनु सकारात्मक सन्देश भएको बताए। उनले निर्वाचित नेतृत्वले अब प्राप्त जिम्मेवारीअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, क्षेत्रीय सभापति दुर्गा केसीले नयाँ नेतृत्वले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउन भूमिका खेल्नुपर्ने बताए। क्षेत्रीय सचिव विष्णु मल्लले निर्विरोध रूपमा नेतृत्व चयन हुनु पार्टीभित्रको सहकार्य र आपसी समझदारीको परिणाम भएको धारणा राखिन्।
नगर सभापतिमा निर्विरोध निर्वाचित भएपछि विष्णुप्रसाद न्यौपानेले आफूलाई प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
नयाँ कार्यसमिति निर्विरोध चयन भएसँगै बाणगंगामा नेपाली कांग्रेसको देउवा पक्षको नगरस्तरीय समानान्तर गतिविधिले औपचारिक स्वरूप पाएको छ। आगामी दिनमा नयाँ नेतृत्वले संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टी गतिविधिलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।








