गृहपृष्ठ Featured बुद्धभूमिमा वक्तृत्वकला प्रतियोगिता, नेपाल राष्ट्रिय माविकी अप्सना भट्टराई प्रथम

बुद्धभूमिमा वक्तृत्वकला प्रतियोगिता, नेपाल राष्ट्रिय माविकी अप्सना भट्टराई प्रथम

वैखरी अनलाइन, कपिलवस्तु ।

अन्तर्राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी अप्सना भट्टराई प्रथम भएकी छन् ।

‘बालापनको रक्षा स् भविष्यको सुरक्षा’ भन्ने शीर्षकमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच आयोजित प्रतियोगितामा धनकौली माध्यमिक विद्यालयका भुवनेश्वर पाण्डे द्वितीय भएका छन् । त्यस्तै, श्री माध्यमिक विद्यालय इमिलियाकी सम्पदा खरेल तृतीय र जनकल्याण माध्यमिक विद्यालयकी बन्दना लोहनीले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

बालबालिकाको अधिकार, संरक्षण, सुरक्षा तथा उनीहरूको उज्ज्वल भविष्यका विषयमा विद्यार्थीको विचार र प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बालापनको महत्व, बालअधिकारको संरक्षण तथा बालबालिकाको सुरक्षित भविष्य निर्माणमा परिवार, समाज र राज्यको भूमिकालगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

बुद्धभूमि नगरपालिकाको आयोजनामा मंसिर ४ गते नगरपालिकाको बहुउद्देश्यीय सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नगर प्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षता तथा सहायक महिला विकास अधिकृत सीता घिमिरेको सञ्चालनमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे, वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापालगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास र सिर्जनात्मक अभिव्यक्ति क्षमताको विकास गर्नुका साथै बालअधिकार र बालसंरक्षणसम्बन्धी सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार