तिलोत्तमा ।
बुटवल उपमहानगरपालिकामा नक्कली लालपुर्जा वितरण गरेको पाइएको छ । उपमहानगरपालिका-११ मा रहेको न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा नक्कली लालपुर्जा, रकम संकलन गरेको रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपुर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए ।
उनले टोल विकास संस्थाको क्षेत्राधिकारभन्दा बाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिने बताए ।








