गृहपृष्ठ खबर बुद्धभूमिमा निर्माणाधीन १५ शैय्याको नगर अस्पताल अन्तिम चरणमा

बुद्धभूमिमा निर्माणाधीन १५ शैय्याको नगर अस्पताल अन्तिम चरणमा

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्माणाधीन १५ शैय्याको नगर अस्पतालको भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

बुद्धभूमि–२ बडहरामा निर्माण भइरहेको उक्त अस्पताल यही वैशाख मसान्तसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको नगरपालिकाले जनाएको छ।

करिब १२ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यस अस्पतालले स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। अस्पताल भवनको मुख्य संरचना, आन्तरिक कोठा व्यवस्थापन, विद्युत् तथा पानी जडान, रंगरोगन लगायतका काम अन्तिम चरणमा पुगेका छन् भने उपकरण जडान तथा व्यवस्थापनको काम पनि सँगसँगै अगाडि बढाइएको जनाइएको छ।

अस्पताल सञ्चालनमा आएपछि डेन्टल क्लिनिक, जनरल ओपीडी सेवा, आँखा परीक्षण, प्रयोगशाला (ल्याब), एक्स–रे, प्रसूति सेवा, इमरजेन्सी सेवा तथा शवदाह गृह जस्ता आधारभूतदेखि अत्यावश्यक स्वास्थ्य सेवाहरू एउटै स्थानबाट उपलब्ध हुनेछन्। यसले विशेषगरी ग्रामीण तथा विपन्न समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

नगरप्रमुख केशव श्रेष्ठले अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै निर्धारित समयभित्रै सञ्चालनमा ल्याउने गरी आवश्यक सबै तयारी तीव्र बनाइएको बताउनुभयो। उहाँका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा सेवा प्रवाहको कार्यविधि निर्माणसमेत अघि बढाइएको छ।

उहाँले भन्नुभयो, “नगरवासीलाई सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो अस्पताल निर्माण गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिकले सहज, सुलभ र गुणस्तरीय सेवा पाउनेछन्।”

नगरप्रमुख श्रेष्ठले दीर्घकालीन रूपमा अस्पताललाई थप स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना समेत रहेको जानकारी दिनुभयो। साथै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरले आगामी दिनमा थप पूर्वाधार र सेवामा लगानी बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

स्थानीयवासीले पनि अस्पताल छिट्टै सञ्चालनमा आउनु सकारात्मक कदम भएको भन्दै समयमै सेवा सुरु हुने अपेक्षा गरेका छन्। यस अस्पताल सञ्चालनमा आएपछि बुद्धभूमि नगरपालिका मात्र नभई आसपासका क्षेत्रका बासिन्दाले समेत प्रत्यक्ष लाभ लिने विश्वास गरिएको छ।

सम्बन्धित् समाचार