गुल्मी ।
गुल्मीका विभिन्न फाँटका किसानलाई यतिबेला चैते धान रोप्न भ्याइनभाइ छ। चैत महिना सुरु भएलगत्तै जिल्लाका किसान खेतमा बाली गाउँदै, हिलो खेल्दै धान रोप्नमै व्यस्त भेटिन्छन्। यहाँका किसानले चैते र वर्षे गरी वर्षमा दुई पटक धान खेती गर्दै आएका छन्। चैतको पहिलो सातादेखि रोप्न सुरु गरेको धान यो महिनाभर रोप्ने प्रचलन छ।
जिल्लाका अर्वेनी, कनौटा, छापचौर, लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, मजुवा, रुपाकोट, शान्तिपुर तलाफाँट इन्द्रेगौडा भुवाचिदि वामीटक्सार पौदी अरेवा भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिर्सेनीको अग्लुङफेदी, पनाहाखोला र छल्दीको आसपासका क्षेत्र, चौरासीफाँट, हुलाके, घोडाहाफाँट, टारीफाँट, खर्जेङ, बोआफाँट, टाहाटिम, घिउबेसी, छम्दी, आसपासको क्षेत्रमा चैते धान खेती हुँदै आएको छ।
यस वर्षमा ३ सय १९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरेको छ। पछिल्लो समय बढ्दो सहरमा बसाइँसराइ, ग्रामीण क्षेत्रमा उत्पादन गर्ने जनशक्तिको कमि हुँदा बर्सेनि रोपाइँको क्षेत्रफल घट्दै गएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए। हिउँदमा वर्षा पनि कम हुने भएकाले धानको खेतीमा गर्न थप समस्या बढ्दै गएको उनले बताए।








