कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भएको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कपको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विमिहाँले जितेको छ । यस विद्यालयले ११ स्वर्ण, ६ रजत र २ कास्यसहित उपाधि जितेको हो ।
यस्तै पूर्ण केशर माध्यमिक विद्यालय ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ भने माध्यकि विद्यालय ठूलो नन्दनगर ५ स्वर्ण, १० रजत र ६ कास्यसहित तेस्रो भएको छ ।
उक्त प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ वरगदहवाको खेलमैदानमा सुरु भएको थियो ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेलाडीको खेल सिप विकासमा पालिकाले आवश्यक सहयोग गर्ने बताए । प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको उनले बताए ।
पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ ।
उनले खेलले खेलाडी उत्पादनमा मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।








