इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको दिनको पहिलो खेलमा अङ्कतालिकाको पुछारमा रहेको चेन्नइ सुपर किंग्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८३ रनले पराजित गरेको छ। फराकिलो जित निकाले पनि चेन्नइले जारी सिजन अङ्क तालिकाको पुछारमा रहेर आफ्नो यात्रा अन्त्य गर्न बाध्य भयो।
हारपछि पनि शीर्ष स्थानमा रहेको गुजरातले भने आफ्नै बलमा ‘क्वालिफायर’ मा पुग्ने मौका गुमायो। तत्काल शीर्ष स्थानमा रहे पनि ‘प्लेअफ’ पुगेका बाँकी टिमको प्रदर्शनले अब उसको ‘क्वालिफायर’ सम्भावनाको फैसला हुनेछ।
अब गुजरातको ‘क्वालिफायर’ का लागि आरसीबी आफ्नो अन्तिम खेलमा पराजित हुनु पर्नेछ। त्यसबाहेक ऊसँग अर्को विकल्प बाँकी छैन। गुजरातको हारले अब भोलि (सोमबार) प्लेअफमा स्थान बनाइसकेका पञ्जाब र मुम्बईमध्ये एक टिमलाई ‘क्वालिफायर’ मा पुग्ने अवसर सिर्जना गरेको छ।
मुम्बई र पञ्जाबबीचको विजेताले क्वालिफायरमा स्थान बनाउने छ। किनकि मुम्बइले जिते उसको गुजरात समान १८ अङ्क हुनेछ र ऊ नेट रनरेट गुजरातको भन्दा माथि रहने छ। यदि पञ्जाबले जितेमा गुजरातलाई १ अङ्कले पछि पार्नेछ। यदि पञ्जाब र मुम्बईको खेल रद्द भएको खण्डमा पनि पञ्जाबले गुजरातसमान अङ्क बनाएर नेट रनरेट गुजरातलाई पछि पार्नेछ।
तर लिगचरणको अन्तिम खेलमा भने गुजरातको नजर रहने छ। यदि अन्तिम खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई हराएमा गुजरात ‘क्वालिफायर’ खेल्न पाउने छ। यदि बैंगलोरले लखनउलाई हराएमा भने गुजरात ‘इलिमिनेटर’ मा धकेलिने छ। यसको अर्थ जारी आइपिएलको शीर्ष दुईको समीकरण लिगको अन्तिम खेल अर्थात आरसीबी र लखनउको मंगलबार हुने खेलले तय गर्ने पक्का भएको छ।
अन्तिम खेलमा चेन्नइको रवाफ
अहमदाबादमा भएको अन्तिम खेलमा चेन्नइले टस जितेर पहिले ब्याटिङ गर्दै सिजनकै उत्कृष्ट प्रदर्शन गर्यो। उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो।
चेन्नइका लागि डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको विष्फोटक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा ४ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै, डेभिड कनवेले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाएका थिए। उनीबाहेक आयुष महत्रीले ३४ रन बनाउँदा उर्विल पटेलले ३७ रन बनाएका थिए। त्यस्तै, शिवम दुवेले १७ रन बनाउँदा रवीन्द्र जडेजा २१ रनमा अविजित रहे।
२ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १ सय ४७ रनमा समेटियो। उसका लागि साई सुदर्शनले ४१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो स्कोरमा रन बनाउन सकेनन्।
गुजरातलाई सस्तैमा अलआउट गर्ने क्रममा चेन्नइका लागि नुर अहमद र अन्सुल कम्बोजले समान ३-३ विकेट लिए। त्यस्तै, रवीन्द्र जडेजाले २ विकेट लिँदा खलिल अह्मद र मथिसा पथिरानाले समान १-१ विकेट लिएका थिए।








