उनीहरूको बुढानिलकण्ठस्थित निवास भदौ २४ गतेको लुटपाट र तोडफोडमा खरानी भएपछि देउवा दम्पत्ती घरबार विहीन भएका छन्।
भदौ २४ गते जेनजीको नाममा उनीहरूको निवासमा आएका प्रदर्शनकारीहरूले देउवा दम्पत्तीमाथि शारिरीक दुर्व्यवहार र कुटपिट गरेका थिए। कुटपिटपछि देउवा दम्पत्तीलाई पछाडिको पर्खालबाट उद्धार गरिएको थियो। प्रदर्शनकारीले देउवा र पत्नी तथा तत्कालीन विदेशमन्त्री आरजु देउवामाथि अपशब्द बोल्दै कुटपिट गरेका थिए। कुटपिटबाट दुवैको शरीरमा चोट लागेको थियो।
उनीहरूको सेनाको निगरानीमा उपचार गरिएको छ। सैनिक स्रोतका अनुसार देउवा दम्पत्ती पूर्ण रूपमा ‘रिकभर’ भइसकेका छन्। ‘तर बाहिर बस्ने ठाउँको टुंगो नलाग्दा उनीहरू अझै अस्पतालमै छन्,’ स्रोतले भन्यो।
देउवा परिवारका लागि काठमाडौँ र ललितपुर क्षेत्रमा घरको खोजी जारी रहे्को बुझिएको छ। उनी पहिले बसेको मण्डिखाटारस्थित संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमको घर भाडामा नै रहेकाले देउवा दम्पतीले अन्यत्र घर खोजिरहेको स्रोतले बताएको छ।
उता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्न थालेका छन्। बालकोटस्थित उनको निजी निवास प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेका छन्।