नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा टुंगा नलागेसम्म निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
आइतबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। मुख्य सचिव पौडेलसँगै पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन्।
निवेदनमा भनिएको छ, ‘सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेशी समेत तोकी पाएको हुँदा उक्त मुद्दाको सम्बन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनि निवेदन लिई उपस्थित भएको छु।’
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ मा मान्यता दिएको थियो। त्यसका विरुद्ध देउवा पक्षले आइतबार बिहान सर्वोच्च अदालतमा रिट दायर गरेको छ। त्यसमाथि सर्वोच्च अदालतले माघ ६ मा सुनुवाइ तोकेको छ। निर्वाचन कार्यक्रम अनुसार माघ ६ मै उम्मेदवारी दर्ताको मिति तय गरिएको छ।
कांग्रेसको विवादलाई लिएर प्रमुख राजनीतिक दलले पनि मनोनयन दर्ताको समय सार्न माग गरेका छन्। आइतबार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मनोनयनको मिति सार्न आग्रह गरेका हुन्। यसबारे निर्वाचन आयोगले छलफल गरिरहेको जनाइएको छ।








