नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) लाई पनि आफ्नो पार्टीसँग एकता गर्न अपिल गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेकपामा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि अपिल गरेका हुन्। ‘नेकपा (एमाले)लाई कुनै भ्रममा नरहन, साच्चै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने।
मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उनको भनाइ थियो। त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको एकता जरुरी रहेको उनले बताए।
‘हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरु केही पनि छैन। राष्ट्र संकटमा छ। नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ,’ उनले थपे, ‘वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ। अरु लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ।प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो।’
उनले मुलुकलाई संकटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको उनले बताए। मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए।
‘हामीले राष्ट्र गम्भिर संकटमा भएको अवस्थालाई विचार गरेर नै भदौ २६ गते रातभर बसेर अन्तरिम सरकार र निर्वाचन मार्फत राष्ट्रलाई निकास दिने काम गर्यौँ। त्यतिवेला संसद् पुनस्थापना र सर्वदलीय सरकारको कुरा पनि आएको थियो। तर माधवजी र मैले अवको निकास चुनावनै हो भनेर नयाँ निर्वाचनले मात्रै देशलाई राजनीतिक सहजतातिर लैजान्छ भनेर हामी दृढ भएर उभियौँ,’ उनले भने।
आफू र सहसंयोजक माधवकुमार नेपालले चुनावमै जोड दिएको उल्लेख गरे। ‘आज माधवजी र मलाई गर्व पनि छ, सिंगो राष्ट्र निर्वाचनमय भएको छ। सबै राजनीतिक दलहरु निर्वाचनमा जाने वातावरण बनेको छ,’ उनले भने।
अब नेकपा सबैभन्दा ठूलो पार्टी बन्ने उनको दाबी थियो। ‘अब एक नम्बर पार्टी हुन्छ। मैले त हिजोअस्तिदेखि साथीहरूलाई भन्न थालेको छु– ओखलढुंगाले सिंगो राष्ट्रलाई सन्देश दिँदै छ,’ प्रचण्डले भने।
उनले अझै पनि देश संकटमा रहेकाले एकतामा जोड दिनुपर्ने बताए। ‘देश अझै पनि संकटमा छ। दुर्घटना पूरै टरिसक्यो भन्ने छैन। बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दह्रो एकता जनताको पैदा गर्न सकिएनभने फेरि पनि दुर्घटना हुन सक्छ,’ उनले भने।








