सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित श्री सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडले महिलालाई आत्मनिर्भर तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरेको ५ दिने अचार बनाउने तालिम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको सहकारीकी सचिव सुनिता सेनले जानकारी दिनुभयो ।

सचिव सेनले सहकारीले विगतदेखि नै महिलालाई सिपमूलक तालिममार्फत उद्यमशीलतासँग जोड्ने प्रयास गर्दै आएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागी महिलालाई आग्रह गर्नुभयो । उहाँले महिलाले सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले नगरपालिकाले सिपमूलक तालिमलाई प्राथमिकतामा राखेर हरेक वर्ष उल्लेख्य बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले तालिममार्फत धेरै महिलाले सिप हासिल गरे पनि त्यसलाई व्यवहारमा लागू गरी व्यवसायिक बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले दृढ इच्छा शक्ति र निरन्तर मेहनतका साथ अघि बढे नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै, उहाँले अहिले उत्पादनको बजारीकरणमा ठूलो समस्या नरहेको उल्लेख गर्दै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नं. ३ की वडा सदस्य चन्द्रावती चौधरी थारुले महिलालाई सिप र स्वरोजगारसँग जोड्ने यस्ता तालिमले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी घरेलु उद्यम सञ्चालन गर्न महिलालाई आग्रह गर्दै वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै सहकारीकी अध्यक्ष रमा पाण्डेले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सहकारीले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले तालिमले महिलाहरूलाई घरेलु उद्यममार्फत आर्थिक रूपमा सक्षम बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
१५ जना महिलाको सहभागिता रहेको उक्त तालिममा बसन्त मल्ल सेनले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।







