गृहपृष्ठ खबर कपिलवस्तु मिल व्यवसायी संघको ७ औं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु मिल व्यवसायी संघको ७ औं वार्षिक साधारणसभा सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु मिल व्यवसायी संघको ७ औं वार्षिक साधारणसभा शुक्रबार बाणगंगा नगरपालिका–२ नन्दनगरमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष शालिकराम भुसालले मिल व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यवसायिक हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले व्यवसायीहरूलाई समयअनुसार प्रविधिमैत्री र गुणस्तरीय सेवा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले स्थानीय व्यवसायीहरूको आर्थिक गतिविधिले नगरको समग्र आर्थिक विकासमा टेवा पुगेको बताउँदै व्यवसायीमैत्री वातावरण निर्माणमा वडा कार्यालय सधैं सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको समेत बताउनुभयो ।

विशिष्ट अतिथि कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले मिल व्यवसायीहरू जिल्लाको आर्थिक चलायमानताको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै व्यवसायीहरूको समस्या समाधान तथा अधिकार संरक्षणका लागि उद्योग वाणिज्य संघले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका सचिव तुल्सी घिमिरेको सञ्चालन तथा उपाध्यक्ष कृष्णप्रसाद भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा रुपन्देही ज्यालादारी मिल व्यवसायी संघका अध्यक्ष गंगाधर भुसाल, बाणगंगा नगरपालिकाका राजस्व अधिकृत मदनप्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सचिव तुल्सी घिमिरेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केशवराज खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूले संघले व्यवसायीहरूको हकहित, समन्वय र व्यवसायिक सुदृढीकरणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

साथै संघले बार्षिक साधारण सभाको अवसर पारेर वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो ।

सम्बन्धित् समाचार