वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले महिलाका समस्या, सुझाव र गुनासो प्रत्यक्ष रूपमा सुन्दै समाधानका पहललाई प्राथमिकता दिनुभएको छ ।
वडा नं. १ मा आयोजित ‘महिलासँग उपमेयर’ कार्यक्रममार्फत उहाँले स्थानीय महिलाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूका गुनासा सुन्नुभएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले स्थानीय सरकार स्थापना भएपछि पछिल्लो ९ वर्षको अवधिमा महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो । महिलाहरूको नेतृत्व तथा निर्णय प्रक्रियामा सहभागिता बढ्दै गएको उल्लेख गर्दै उहाँले अहिले विभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रका नेतृत्वदायी भूमिकामा महिलाहरूको उपस्थिति उल्लेख्य रूपमा बढेको बताउनुभयो ।
उहाँले समाजमा महिलाप्रति हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आएको बताउँदै विगतको तुलनामा महिलाहरू आफ्नो अधिकारका विषयमा बढी सचेत र आवाज उठाउन सक्ने अवस्थामा पुगेको बताउनुभयो । अधिकारसँगै कर्तव्यप्रति पनि महिलाहरू जिम्मेवार बन्दै गएको उहाँको भनाइ छ ।
उपप्रमुख चौधरीले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन नगरपालिकाले हरेक वर्ष विभिन्न सीपमूलक तथा आयआर्जनमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अचार बनाउने, सिलाइ–कटाइ, ब्युटिसियन, कृषि तथा पशुपालन लगायतका तालिममार्फत धेरै महिलाहरू उद्यमशीलतामा जोडिएको र सफल महिला उद्यमीसमेत उत्पादन भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी महिलाहरूले खानेपानी, सरसफाइ, महिला हिंसा, स्वरोजगार, सीप विकास, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए । उनीहरूले महिलामैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउन, सीपमूलक तालिमको दायरा बढाउन तथा उद्यम सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए ।
महिलाहरूका गुनासा सुनेपछि उपप्रमुख चौधरीले उठेका विषयहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलाका आवश्यकता र समस्यालाई नजिकबाट बुझ्न तथा उनीहरूको सहभागितामा विकासका योजना निर्माण गर्न ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरण बिना समग्र समाजको विकास सम्भव नहुने उल्लेख गर्दै महिलाहरूलाई आत्मनिर्भर, सक्षम र नेतृत्वदायी भूमिकामा स्थापित गर्न नगरपालिका निरन्तर लागिपरेको बताउनुभयो ।
कार्यक्रमले महिलाहरूलाई आफ्ना समस्या र सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गर्नुका साथै स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।








