गृहपृष्ठ Featured गणेश नेपालीलाई तत्काल भारत नलगिने, स्वास्थ्य अवस्था अझै अस्थिर

गणेश नेपालीलाई तत्काल भारत नलगिने, स्वास्थ्य अवस्था अझै अस्थिर

काठमाडाैंकाे त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ ।

उनको स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले चिकित्सकहरूको सुझावअनुसार तत्काल हवाई यात्रा नगराउने निर्णय भएको हो । प्रारम्भिक रूपमा उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रेफर गर्ने तयारी गरिएको भए पनि पछिल्लो स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि उक्त योजना स्थगित गरिएको स्रोतले जनाएको छ ।

सरकारले भारत पठाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । उनलाई विमानस्थलसम्म पुर्‍याउन सुरक्षा व्यवस्थासमेत मिलाइएको थियो । तर, चिकित्सकहरूले हालको अवस्थामा विदेश लैजान उपयुक्त नरहेको निष्कर्ष निकालेपछि उपचार नेपालमै निरन्तर अघि बढाइने भएको छ ।त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो ।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् । नेपालीको अहिले वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचार भइरहेको छ । उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए ।

 

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातिदेखि निरन्तर खटिएका छन् ।

सम्बन्धित् समाचार