सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ।
सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गरेका छन्।
प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तिमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ।
एमबिबिएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ।
सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढीमा तीन महिनाभित्र अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ।
चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सिट निर्धारण गर्ने सहमति भएको छ।








