गृहपृष्ठ Featured कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३० जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ — कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रका गभर्नर तथा मेयरहरूले दिएको विवरणका आधारमा सीएनएनले मृतकको संख्या ३० जना पुगेको पुष्टि गरेको हो ।

भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको विभागको सान होसे डेल पालमारमा थियो । भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

सीएनएनका अनुसार रिसाराल्दा विभागको पेरेइरामा १८, काल्डासको मानिजालेसमा २, चोको विभागमा ४, चोकोको राजधानी क्विब्डोमा १, कालीमा एल दारिएनमा ३, भाये डेल काउकाको जार्जालमा १ र एन्टिओकियाको तामेसिसमा १ जनाको मृत्यु भएको छ ।

चोकोका गभर्नरले क्षेत्रीय राजधानी क्विब्डोमा ‘मानिसहरू घाइते भएको र भवनहरूमा गम्भीर क्षति पुगेको’ बताएका छन् ।

शुक्रबार मात्रै पदभार सम्हालेका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएलाले भूकम्पबाट भएको क्षतिबारे छलफल गर्न आपत्कालीन समितिको बैठक बोलाएका छन् ।

सम्बन्धित् समाचार